ओलीको स्वास्थ्यमा समस्या आएकाले पार्टी एकता लम्बियो

पुस १९,काठमाडौं – माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल गरेको थियो ।

बैठकले जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय बैठकमा सहभागी माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता भुसालले बताइन् ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गीरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहेका छन् ।
नयाँपत्रिकाबाट