पशुपतिनाथ मन्दिर परिसरमा सवारी प्रवेशमा रोक

 

पुस १२,काठमाडौं – विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई सवारी साधन निषेध गरिएको हो । मन्दिरमा जाने तीर्थयात्रीहरुको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ । शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । स्थानीयबासीहरुका लागि भने वडा कार्यालयसँग समन्वय गरेर सवारी साधन पासको व्यवस्था मिलाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्र भित्र सवारीसाधन निषेध गर्ने निर्णय अनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो । चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्क सम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ । कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ ।