गोठालाको छोरो हुँ, म सँग दम्भ छैन : ओली

पुस ९, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ बोकेर नहिँडेको बताएका छन् । केही सञ्चार माध्यममा चुनाव जितेपछि अध्यक्ष ओलीले दम्भ बोकेर हिँडेको समाचार आइरहेका बेला ओलीले बाँचुन्जेल इमानका साथ काम गर्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका स‌ंस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्म जयन्ती कार्यक्रमलाई ललितपुरको भैँसेपाटीमा शनिबार दिउँसो सम्बोधन गर्दै ओलीले गोठालाको छोराले शासकीय दम्भ र रवाफ देखाउनु कुनै जरुरी नभएको स्पष्टिकरण दिए ।

‘म गाई भैँसी चराएर हुर्किएको मान्छे । मैले शासकीय स्वभाव बोकेको पनि छैन, म शासक होइन, सेवक भएको मान्छे हो , उनले भने, मैले कहीँ कसैलाई दम्भ देखाउन आवश्यक छैन । हलो जोतेको बाबुको छोरो हुँ, मैले पनि हलो नै जोतेको हुँ । किन मैले दम्भ देखाउनु ? अब मेरो पुरै ध्यान देशको विकासमा लाग्नेछु । मेरो आयुको कसैले चिन्ता लिनु पर्दैन । ११ वर्ष अघि किड्नी फेरेको थिएँ, कहिले निमोनिया त कहिले मेनेन्जाइटिसबाट मरिसक्यो पनि भने, उनले भावुक हुँदै भने । ‘सबैको आयुको निश्चित अवधि र सिमा हुन्छ । असीमित आयु कसैले पाएको छैन । मेरो पनि आयुको सीमा छ । तर मलाई मेरो आयुको कुनै चिन्ता छैन । ओलीले भने

अध्यक्ष ओलीले सत्तापक्ष या प्रतिपक्ष कसैले पनि एकापसमा दम्भ देखाउनु जरुरी नभएको बताए । कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष ओलीले कांग्रेसका स‌ंस्थापक नेता किसुनजीसँग आफ्नो कहीँ कतै तुलना नहुने बताए । उहाँसँग मेरो कुनै पनि रुपमा तुलना हुन सक्दैन, ‌ओलीले भने, जहानियाँ राणा शासनबाट देशलाई नयाँ युगमा ल्याउने किसुनजीहरु नै हुनु हुन्छ । संसदमा उहाँसँगै बस्ने मौका पाएको थिएँ । उहाँ साह्रै सरल र खुल्ला हृदयको व्यक्ति हुनु हुन्थ्यो ।

अन्नपूर्णबाट