सात वटै प्रदेशमा नेपाली कांग्रेस सत्ता बाहिर !

पुस ९, काठमाडौं – ०४८ पछि करिब २३ वर्ष सम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले यो पटक केन्द्रीय सरकार देखि प्रदेश सरकारमा समेत कम्तिमा पाँच वर्ष सम्म प्रतिपक्षमा बस्नु पर्ने भएको छ । समानुपातिकमा एमालेकै हाराहारीमा सिट प्राप्त गरेको कांग्रेसले देशका ७ वटै प्रदेशमा सरकार बनाउन नसक्ने भएको छ । कांग्रेसको प्रदेश सभामा समानुपातिक तर्फ एमालेको भन्दा ३ सिट मात्र कम छ । निर्वाचन आयोगले सार्वजनिक गरेका तथ्याङ्कको आधारमा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ सिट जितेको छ । समानुपातिकमा ७ वटै प्रदेशमा एमाले र कांग्रेसको सिट हाराहारीमै छ । तर प्रत्यक्षमा काँग्रेसको सिट एमालेको भन्दा धेरै कम छ ।

एमाले भन्दा ३ वटा मात्र कम सिट जितेको कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउने हैसियत भने बनाउन सकेको छैन । प्रत्यक्षतर्फ सम्मान जनक सीट नजितेका कारण पाँच वर्षको लागि प्रदेश सरकारबाट कांग्रेसले हात धुने भएको हो । समानुपातिकमा सबैभन्दा बढी सिट/भोट ल्याएको प्रदेश नम्बर २ र ७ समेत प्रत्यक्ष नतिजाका कारण कांग्रेस कमजोर बनेको हो । समानुपातिकमा कांग्रेस भन्दा २ सिट मात्र कम पाएको एमालेले प्रदेश नम्बर १ र ३ मा एकल सरकार बनाउने अवस्थामा छ ।
अन्नपूर्णबाट