मध्यतराईमा शीतलहरले जनजीवन कष्टकर

 

पुस ३, २०७४ काठमाडौ  —  मध्यतराईमा शीतलहरले जनजीवन कष्टकर शुक्रबारदेखि मध्यतराईका जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहरका कारण बारा, पर्सा, रौतहटलगायत जिल्लाको जनजीवन कष्टकर बनेको छ । दुई दिनदेखि चलेको शीतलहरले सर्वसाधारण घरबाहिरसमेत कम निस्कने गरेका छन् । बढेको चिसोले बालबालिका र वृद्धवृद्धा प्रभावित भएको स्थानीयले बताएका छन् ।

जनजीवन कष्टकर

चिसोबाट बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, खोकी देखिन थालेको जिल्ला अस्पतालका डा। रवीन्द्र सिंहले बताए । उनले चिसोबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
चिसोका कारण बारा सदरमुकाम कलैयाका साथै जितपुर–सिमरा उपमहानगरपालिकाको मुख्य बजार जितपुर र सिमरामा मानिसको चहलपहल कम भएको छ ।

आगो बालेर जाडो छल्दै

बिहान र राति बाक्लो हुस्सु लाग्न थालेपछि बारा सदरमुकामसहित विभिन्न स्थानका वासिन्दा जाडोबाट बच्न आगो बालेर घुर ताप्दै बस्न थालेका छन् । निजगढलगायत सहरमा किनमेल र हिँड्डुल गर्ने सर्वसाधारणको संख्या घटेको स्थानीय व्यपारीले जनाएका छन् ।

सिमरा विमानस्थलको उडानसमेत प्रभावि

दैनिक सातवटासम्म उडान भर्दै आएको सिमरा विमानस्थलमा आइतबार कुनै पनि उडान हुन सकेन भने विमानको पर्खाइमा रहेका यात्रु गन्तव्यमा जान पाएनन् । बाक्लो कुहिरो र शीतलहरका कारण बाराको सिमरा विमानस्थलको उडान प्रभावित बनेको हो । विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नहुँदा दुई दिनबाट सबै उडान सेवा रद्द गरेको सिमरा विमानस्थल कार्यालयले जनाएको छ ।