मतदान गरेर जाडो छल्न बेसी झरे मनाङबासी

 
मंसिर १४,लमजुङ – मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न हिमालपारीको जिल्ला मनाङ पुगेका मतदाताहरु पुनः काठमाडौं, पोखरा, बेसीसहर लगायतका स्थानमा फर्किएका छन् ।

निर्वाचनमा भोट दिनकै लागि राजधानी काठमाडौं, पोखरा, चितवन, बेसीसहर लगायतका सहरबाट जिल्ला पुगेका स्थानीय बासिन्दा जाडो छल्न निर्वाचन लगत्तै जिल्लाबाट फर्किएका हुन् । विगत भन्दा यसवर्ष चाँडै चिसो बढेकाले उनीहरु निर्वाचनमा भोट खसालेर फर्किन थालेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेले बताए । भोट दिएर प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना प्रतिनिधि पठाउने उत्साहका साथ विभिन्न स्थानबाट ठूलो संख्यामा मतदाताहरु जिल्ला भित्रिएका थिए । भदौ ५ गते सम्म १८ वर्ष पुगेका युवा देखि ८६ वर्ष सम्मका वृद्ध–वृद्धाहरु मतदान गर्न गाउँमा पुगेका काठमाडौं बस्दै आएका पिसाङका ङिमा गुरुङ बताउँछन् । उनीहरुले नासोङ, चामे, नेस्याङ र नारफू गाउँपालिकामा रहेका मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
नागरिकबाट