सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको टोली सक्रिय

मंसिर १०,नुवाकोट – निर्वाचन आयुक्त इला शर्माले निर्वाचन तथा सुरक्षा अधिकारीलाई आइतबार हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भय रहित वतावरणमा सम्पन्न गराउन निर्देशन दिनुभएको छ ।सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक रुपमा चर्चामा रहेको नुवाकोट राजधानीबाट नजिक भएको र चुनावी मैदानमा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि भएकाले गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । जिल्लाको चुनावी तयारी र सुरक्षाको अवस्था जानकारी लिए पछि आफू निर्वाचन शान्तिपूर्ण हुन्छ भन्नेमा ढुक्क भएको बताउँदै आयुक्त शर्माले निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाएर उदाहरणीय काम गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गराउन सञ्चारकर्मीले पनि आआफ्नो स्थानबाट भूमिका खेल्नु पर्ने बताउनुभयो ।

आयुक्त शर्माले मौन अवधिमा पनि सामाजिक सञ्जाल मार्फत भइरहेको चुनावी प्रचारप्रसार प्रति आयोगको ध्यान गएको र सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको टोली पनि सक्रिय भएको बताउनु भयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले निर्वाचनमा आचारसंहिता उल्लंघनका १२ उजुरी परेकामा छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै मतदानका दिन दुई निर्वाचन क्षेत्रमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा चार अनुगमन टोली समेत परिचालन गरिने जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट