मौन अवधिमा फेसबुक, ट्वीटरबाट पनि मत माग्न नपाइने

 

मंसिर ८, काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि हिजो मध्यरात १२ बजे पछि सुरु भएको छ । मौन अवधिमा एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत पनि मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ। मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेल सम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मौन अवधिमा एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता विद्युतीय माध्यमबाट समेत निर्वाचन प्रचार प्रसार गर्न नपाइने उनले बताए।

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसार प्रसार भने जारी रहने छ। पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको प्रवक्ता ढकालले जानकारी दिए। निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनु भन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न हटाउनु पर्ने व्यवस्था छ।
नागरिकबाट