रोनाल्डो र बेन्जिमा चम्किएपछि रियल मड्रिडको प्रभावशाली जित

मंसिर ६,काठमाडौ – साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै समूह ‘एच’ मा रहेका रियल मड्रिडले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो । साबिक विजेता रियल मड्रिडले एपोइल निकोसियालाई ६–० ले हरायो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई प्रभावशाली जित दिलाउने क्रममा करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे । २३ औं मिनेटठमा मोड्रिकको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो ।

बेन्जिमाले ३९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । नाचोले ४१ औं मिनेटमा एक गोल थपे भने पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । दोस्रो हाफमा रियल मड्रिडका लागि रोनाल्डोले दुई गोल गरे । उनले ४९ र ५४ औं मिनेटमा गोल गर्दै रियलको ६–० को जित निश्चित गरे । रियल मड्रिड समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । टोटनह्यामको १३ तथा रियल मड्रिडको १० अंक भयो ।