अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित 

कात्तिक २९,काठमाडौं – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ ।

मंगलबार राति रुसमा भएको खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोको गोलबाट २–१ को अग्रता लिएको अर्जेन्टिना दोस्रो हाफमा गोल खाँदै पराजित भएको हो । नाइजेरियाका लागि पहिलो हाफमा केलिची इहिनाचोले गोल गरेका थिए ।

दोस्रो हाफमा नाइजेरियाका लागि एलेक्स इवोबीले दुई गोल गरे भने ब्रायन इडोउले गोल गरे । लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना विश्वकप हुने देशमा भएको खेलमा पराजित भएको हो । यो खेलमा अग्युरोले पहिलो हाफमा मात्रै खेलेका थिए ।

मैत्रिपूर्ण खेल अन्तर्गत राति नै भएका अरु खेलमा बेल्जियमले जापान तथा स्लोभाकियाले नर्वेलाई समान १–०, कोलम्बियाले चीनलाई ४–० तथा नेदरल्याण्डसले रोमानियालाई ३–० ले हरायो । यस्तै वेल्स र पानामा, दक्षिण कोरिया र सर्बिया तथा कतार र आइसल्याण्डले १–१ को बराबरी खेले ।