उपत्यकामा मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय

कात्तिक २८, काठमाडौं – लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ । रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारी अन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए । ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो । यसअघि केही अध्ययन भएका थिए । विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ । चाँडो भन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।
नयाँपत्रिकाबाट