व्यवसायीको मिलेमतोमा तरकारीको मूल्य अस्वाभाविक वृद्धि,साँढे ११ रुपैयाँमा किनेको भिन्डी १ सय मा विक्री !

कात्तिक २७,काठमाडौं – शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटी स्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । दुई समूहमा रहेका अनुगमन टोली मध्ये एउटाले ना.६ ख. ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो । मेचीनगर–१७ काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिन्डी, परवल र भ्यान्टा गरी कुल सात हजार पाँच सय किलो आयात भएको थियो । तर बिलमा उल्लेख भएको मूल्य अपत्यारिलो थियो । किनभने सबै तरकारी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाका दरले खरिद गरी कालिमाटी स्थित जयसवाल एसके स्टोरले ल्याइएको थियो ।

साँढे ११ रुपैयाँका दरले खरिद गरेको तरकारीको थोक मूल्य त्यस दिन काउली ७५, भिन्डी १००, परवल ७० र भ्यान्टा ६५ रुपैयाँ प्रतिकिलो थियो । उपभोक्ताले काउली १००, भिन्डी ११०, परवल ९० र भ्यान्टा ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तरकारीको मूल्य अस्वाभाविक रूपले बढेको बताए । ‘तरकारीको मूल्यमा व्यापारीले मनोमानी गरेका छन्,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तरकारी मूल्य नियन्त्रणका विषयमा भएको छलफलमा महानिर्देशक दाहालले तरकारी अभाव नदेखिएको बताए । ‘यहाँ महँगो पैसा तिरेर खरिद गर्छु भन्दा जति पनि तरकारी पाइन्छ,’ उनले भने, ‘थोरै पैसामा मात्र किन्न नपाइएको हो ।’
नयाँपत्रिकाबाट