नारायणगढ–मुग्लिक सडक शनिबार १० देखि ५ बजेसम्म बन्द हुुने

२५ कात्तिक, काठमाडौं — चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ ।
नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टानले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ ।
सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो ।
निर्धा्रित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।