आजबाट मतदाता शिक्षा सुरु — निर्वाचन आयोग

२५ कात्तिक, काठमाडौं — पहिलो चरणको निर्वाचन नजिकिदै गर्दा निर्वाचन  आयोगले आजबाट मतदाता शिक्षा शुरु गरेको छ ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको हो ।
मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला शुरु भएको हो । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलग अलग मतपत्र छापेर जिल्ला जिल्लामा पठाउँदा ढिला भएको हो ।