समन्वय समितिबाटै गायब भयो भुकम्पपीडितको फाइल

 

कार्तिक १३, काठमाडौं— जिल्ला समन्वय समिति रसुवाबाट भूकम्पपीडितको पहिलो किस्ता राहत रकम सिफारिस गरेको फाइल नै गायब भएको छ । पहिलो किस्ता सिफारिसका लागि कालिका गाउँपालिका वडा नम्बर ३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाद्वारा आइतबार सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा जनप्रतिनिधिले भूकम्पपीडिको फाइल हराएको बताएका हुन् । इन्जिनियरले भवन डिभिजन कार्यालयमा ल्याएको र उक्त कार्यालयबाट जिल्ला समन्वय समितिमा पठाएपछि फाइल गायब भएको उनीहरूको भनाइ छ ।
चैतमा सिफरिस गरेको फाइल हराएपछि पुनः साउनमा सिफारिस भएको थियो । तर, सो फाइल पनि गायब भएको कालिका गाउँपालिका–३ का अध्यक्ष पुष्पराज न्यौपानेले बताए ।

फाइल हराएको जानकारी छैनः जिसस

फाइल हराएकोबारे जानकारी नपाएको जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्टले बताए । उनले भने, ‘फाइल हराएको विषयमा मलाई जानकारी छैन, यसको विषयमा के भएको रहेछ म छानबिन गरी प्रक्रिया अगाडि बढाउँछु ।’ फाइल हराएको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले फाइलबारे सम्पूर्ण विवरण माग गरेको छ ।

फाइल कसले ल्याएको हो, कहाँ–कहाँ दर्ता भएको छ, कहाँ आइपुगेपछि हराएको हो भन्ने सम्पूर्ण विवरण पेस गर्न सम्बन्धित निकायलाई प्रशासन कार्यालयले निर्देशन दिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले सोमबार (आज) साँझ ५ बजेसम्म सम्पूर्ण जानकारी दिन निर्देशन दिएकी छिन् । जानकारी नआए सम्बन्धित सबैलाई कारबाही गर्ने उनले बताइन् ।यो समाचार आजको नयाँ प्रत्रिकामा छापिएको छ ।