कांग्रेसद्धारा सत्ताप्राप्तिको लागि गठबन्धन— नेता गोविन्दराज जोशी

कार्तिक ८, काठमाडौ—   कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले नीतिगतभन्दा पनि सत्ताप्राप्तिको लागि कांग्रेसले विभिन्न दलसँग गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

बुधबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता जोशीले विभिन्न दलसँग गठबन्धन गरेर नेतृत्वले पार्टीलाई कमजोर बनाएको भन्दै उनले असन्तुष्टि पोखेका हुन् । कांग्रेसले राप्रपा, राप्रपा(प्रजातान्त्रिक) लगायतसँग दलसँग मिलेर चुनाव लड्दै छ ।

पत्रकार सम्मेलनमा नेता जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट नपाए आफू जनतामाझ जाने समेत बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्ने भनिएको उक्त क्षेत्रमा आफूले टिकट पाए जित निश्चित रहेको उनले बताए । ‘पार्टीको वरिष्ठ नेता भइसकेका व्यक्तिले अरु कुनै क्षेत्रबाट चुनाव लड्न सक्नुहुन्छ,’उनले भने, ‘उक्त क्षेत्र स्वयं पौडेलको लागि गाह्रो छ । सबैलाई चित्त बुझाएर अघि बढ्न सकेमात्र कांग्रेसको जित हुनसक्छ ।’ यो समनचार हामीले कान्तिपुुरबाट लिएका हौ ।

उक्त क्षेत्र आफ्नो प्रभाव क्षेत्र रहेकोले पनि पार्टीले अन्तिमसम्म आफूलाई नै टिकट दिनेमा आफू विश्वस्त रहेको उनले बताए । उनले भने, ‘टिकट नपाए जनताको भावना समेट्न जनतामाझ जाने छु ।’

जनता र विकासको लागि आफूले अहोरात्र काम गरेकोले जनताले आफूलाई नै जिताउनेमा आफू ढुक्क रहेको उनले बताए ।