बागी उमेदवार गठबन्धनहरुलाई टाउको दुखाई बन्दै

 

कात्तिक ८, काठमाडौें – प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् । प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न गरे पनि असफल भए । अहिले कारबाही गर्ने गरी मातहतका कमिटीलाई निर्देशन समेत दिएका छन् ।

नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिन चेतावनी दिँदै फिर्ता नलिए आगामी दिनमा कुनै पनि जिम्मेवारी नदिने गरी कारबाहीको चेतावनी दिएको छ । नेपाली कांग्रेसका बागी उम्मेदवार सहित उसका समर्थक र प्रस्तावक समेत पाँच वर्षका लागि निष्कासित हुने भएका छन् । ‘पार्टीबाट कसैले बागी उम्मेदवारी दिएमा उम्मेदवार सहित प्रस्तावक, समर्थक पाँच वर्षका लागि स्वतः निष्कासित हुनेछन्,’ कांग्रेस अनुशासन समिति संयोजक रमेश रिजालले बताए ।
राजधानीबाट