सिन्धुपाल्चोकको चुनाव पनि रोचक बन्नेः पशुपति शमसेर र अग्नी सापकोटा मैदानमा

 
कार्तिक ६,सिन्धुपाल्चोक – जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए । संघ र प्रदेशसभामा पञ्चायती राजनीतिका हस्ती राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्सेर जबरा, माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्नि सापकोटा, सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र एमाले पोलिटव्यूरो सदस्य अरुण नेपालको उम्मेदवारीले सिन्धुपाल्चोक चर्चामा छ।

ब्याण्ड बाजाको साथमा कम्यूनिस्ट, सूर्य र गोलाकारभित्रको हसिया हथौडा अंकित झण्डा फहराउँदै एमाले–माओवादी केन्द्रको वाम गठबन्धन सबैभन्दा पहिला उम्मेदवार दर्ता गराउन पुगेका थिए । वाम गठबन्धनको नेतृत्व माकेका नेता सापकोटाले गरेका थिए । उनी वाम गठबन्धनको तर्फबाट संघीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन् । परम्परागत पञ्चेबाजा, धिमे बाजाले बजार गुञ्जाउँदै कांग्रेस–राप्रपा (प्रजातन्त्रिक) को लोकतान्त्रिक गठबन्धनले उसैगरी नारावाजीको साथ दलीय चुनाव चिह्न अंकित झण्डा फहराउँदै उम्मेदवारहरुको मनोनयन दर्ता गराएको थिए । यो गठबन्धको नेतृत्व राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष जबरा र मन्त्री बस्नेतले गरेका थिए । एक–अर्कालाई सघाउने निर्णय अनुसार जबरा संघीय क्षेत्र नं. १ र कांग्रेस केन्द्रीय सदस्य रहेका बस्नेत संघीय क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा होमिएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको मनोनयन दर्ता गराउन चर्चित अभिनेत्री तथा राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापा, नेता सुनिलबहादुर थापा समेत आएका थिए । अभिनेत्री थापाले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आएको बताइन्।
नागरिकबाट