लोकतान्त्रिक फोरमले गच्छदारलाई कारबाही गर्यो

कार्तिक १,काठमाडौँ – नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई लोकतान्त्रिक फोरमले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । गच्छदारले सोमबार कांग्रेससँग पार्टी एकीकरण गरेको घोषणा गरे लगत्तै लोकतान्त्रिक फोरमको बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारूको अध्यक्षतामा बसेको बैठकले विधान एवं पार्टी निर्णय विपरीत कार्यमा संलग्न रहेको आरोप लगाउँदै गच्छदारलाई कारबाही गर्ने निर्णय भएको पार्टीका सहअध्यक्ष शिवलाल थापाले बताए ।

‘विधान एवं पार्टी निर्णय विपरीत कांग्रेससँग पार्टी एकीकरण गर्ने पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय भएको छ,’ थापाले भने, ‘पार्टीको बैठकमा लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने निर्णय भएको थियो तर उहाँले जनता एवं कार्यकर्ताको भावना विपरीत पार्टी एकीकरण नै गर्नुभयो ।’ लोकतान्त्रिक फोरमको बैठकले अध्यक्ष गच्छदारलाई कारबाही गर्दै सहअध्यक्ष भानुराम थारूलाई पार्टीको कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको छ । फोरम लोकतान्त्रिकको ३ सय ३५ सदस्यसहितको केन्द्रीय कमिटी रहेको छ । जसमा कार्यवाहक अध्यक्ष भएका थारू तर्फ २ सय ५० भन्दा बढी केन्द्रीय सदस्यहरू रहेको दाबी थापाले गरेका छन् । बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित पार्टी कानुनी प्रक्रिया पूरा गर्दै प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा सहभागी हुने थापाले बताए । थारू नेतृत्वको लोकतान्त्रिक फोरमले पार्टीको नमस्कार गरेको हात चुनाव चिह्न लिएर चुनाव लड्न कानुनी परामर्शमा समेत जुटेका छन् ।
राजधानीबाट