पारित भयो समानुपातिक निर्वाचन निर्देशिका, कम्तीमा ५० प्रतिशत महिला अनिवार्य

असोज २२,काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका ०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक निर्वाचन सञ्चालन तथा व्यवस्थापनको अधिकार निर्वाचन अधिकृतलाई प्रत्यायोजन गरेको छ । आयोगले समानुपातिक निर्वाचनमा भाग लिन आह्वान गर्दै सूचना प्रकाशन गर्ने, दलले निवेदन दिने, निवेदन दिने दलको नामावली प्रकाशन गर्ने, निवेदन फिर्ता लिनसक्ने, निर्वाचन चिह्न प्रदान गर्ने जस्ता व्यवस्था निर्देशिकामा छ ।

आयोगले असोज २९ गते समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय तोकेको छ । कार्यसूची अनुसार आयोगले दलितका लागि १३.८, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५.३, थारू ६.६, मुस्लिम ४.४ प्रतिशतको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम सिफारिस गर्ने व्यवस्था निर्देशिकामा तोकेको छ । यस सूचीमा कम्तीमा ५० प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था पनि गरिएको छ ।
गोरखापत्रबाट