निर्वाचन सफलतामा राष्ट्रसंघ खुसी

आश्विन ७ काठमाडौ, —(संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले नेपालमा सम्पन्न स्थानीय निर्वाचनको स्वागत गर्दै आगामी दुई चुनावको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रसंघको प्रेसकक्षमा ब्रिफिङ गर्दै महासचिव एन्टेनियोका प्रवक्ता स्टेफन डुजारीले उनलाई उद्धृत गर्दै भने, नेपालमा सम्पन्न स्थानीय तहको निर्वाचनले समावेशी संघीयता कार्यान्वयनको दिशामा महत्त्वपूर्ण खुडकिलो पार गरेको छ । आगामी दिनमा हुने अरू दुई निर्वाचनको समेत सफलताको कामना गर्छु । स्थानीय निर्वाचन सफल पारेकामा नेपाली जनतालाई धन्यवाद दिएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राष्ट्रसंघीय महासभामा सम्बोधन गरी नेपालको पछिल्लो अवस्थाबारे अन्तर्रा्ष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम छ । देउवाको सम्बोधन हुनु दुई दिनअघि नै एन्टेनियोले संविधान कार्यान्वयनमा नेपालको प्रगतिबारे प्रतिक्रिया दिएका हुन् । विश्वको समस्या र समाधान विषयमा जानकारी दिने क्रममा उनका प्रवक्ताले नेपालको सफलताको विषय प्रस्तुत गरेका थिए ।

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ।

संविधान कार्यान्वयन र समावेशिता लागू हुने क्रम अघि बढेकामा महासचिवले खुसी व्यक्त गरेको प्रवक्ताले जनाए । उनले राजनीतिक स्थायित्व र दिगो शान्तितर्फ नेपाल अघि बढेको पछिल्लो उदाहरणका रूपमा निर्वाचन सफलतालाई व्याख्या गरे । आगामी मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलताको कामना गर्दै एन्टेनियोले आगामी दिनमा नेपाल संविधान कार्यान्वयनका दिशामा अझै खारिएर अघि बढ्ने विश्वास व्यक्त गरे । समावेशितालाई नेपालको पछिल्लो सफलता भन्दै उनले यसमा अडेर अघि बढ्न सक्नुपर्ने औंल्याए ।