मतदाताले मागे पक्की पुल

  • प्रदेश/प्रतिनिधिसभा चुनाव

 

भाद्र ३१, काठमाडौं –पहिलो चरणमा स्थानीय तह निर्वाचन सकिएको पर्वतमा प्रदेशसभा र प्रतिनिधिसभाका लागि चुनावी जोडघटाउ सुरु भएको छ । यहाँका मतदाताले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने प्रतिनिधिलाई आफ्ना माग राख्न सुरु गरिसकेका छन् ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेपछि यहाँको बिहादी गाउँपालिकाबासीले आफ्नो गाउँ जोड्न कालीगण्डकी नदीमा मोटरेबल पुलले जोड्न लिखित सहमति गर्नेलाई भोट दिने बताएका छन् । बागलुङको जैमिनी नगरपालिका र बिहादी १, २ र ३ जोड्ने गरी कालीगण्डकीको गाईथुने घाटमा पक्की पुल बनाउन माग गरेका हुन् । कालीगण्डकी करिडोर र कालीगण्डकी राजमार्ग जोडिने पुलले धेरै बस्ती लाभान्वित हुने भन्दै बिहादीवासीले यस्तो माग गरेका हुन् ।

स्थानीयले भेलाले गरेको निर्णय स्थानीय जनप्रतिनिधिदेखि दलका नेतालाई समेत बुझाएका छन् । ‘आमभेलाको निर्णय सबै ठाउँमा पठाएका छौं,’ अगुवा सेवकनाथ आचार्यले भने, ‘राजनीतिक

आस्थाका आधारमा अब यहाँका भोट जाँदैनन् । गाउँको विकासमा प्रतिबद्धता जनाउनेलाई भोट दिन सबै सहमत छौं ।’

पुल निर्माणपछि विशेष गरी बागलुङको दक्षिण भेगका बासिन्दालाई पोखरा, काठमाडांै र बुटवल जाने बाटो छोट्टिनेछ । बागलुङवासीको आउजाउ बढेपछि बिहादी गाउँपालिकाको व्यावसायिक विस्तार र पूर्वाधार निर्माणमा समेत सहज हुने स्थानीयले बताए ।

स्थानीय अगुवा भीमबहादुर खड्काले पक्की पुल निर्माणका लागि जिल्लाका दुई संसद्, सडक डिभिजन कार्यालयलगायत सबैतिर आग्रह गरेको बताए । ‘गाईथुने घाटमा पक्की पुल हाम्रा लागि महत्त्वपूर्ण छ,’ उनले भने, ‘त्यसले यो क्षेत्रको विकासका सबै ढोका खुल्छ ।’ कालीगण्डकी पारि र वारिका बासिन्दाबीच पारिवारिक सम्बन्धदेखि व्यावसायिक लेनदेनका काम हुने भएकाले पक्की पुल नहुँदा गाडीमा १० मिनेटमा पुगिने ठाउँमा तीन घण्टा घुमेर जानुपर्ने बाध्यता छ । पुल बनेपछि बिरामी स्वास्थ्योपचार र स्थानीय उत्पादन बाहिर पठाउनसमेत सहज हुने स्थानीयको भनाइ छ ।

कालीगण्डकीमा पक्की पुल बनेपछि सदरमुकामभन्दा बुटवल पुग्न छिटो हुने भएकोले पनि यहाँका स्थानीयले पुल निर्माणको विषयलाई चुनावी एजेन्डा बनाएका हुन् । बुटवलतर्फबाट ल्याइने दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत सहुलियत ढुवानी मूल्यमा गाउँसम्म ल्याउन सकिने भएकोले पुल मुख्य एजेन्डा भएको स्थानीय रामु पराजुलीले बताए ।

‘हामीलाई सदरमुकाम पुग्नै एक दिन लाग्छ,’ उनले भने, ‘पुल बने चार घण्टामै बुटवल पुगिन्छ, उताका सामान सुलभ दरमा गाउँमा आउँछन् ।’ सदरमुकामसम्मको सडक सहज हुन अझै केही वर्ष लाग्ने भएकाले पुल बने गाउँको विकासमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।समाचार कान्तिपुरवाट