यो साता नेपाल आइडलमा भोट गर्न पैसा नलाग्ने

भदौ २१ ,काडमाडौं- नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा आफ्ना फेवरेट प्रतियोगीलाई भोट गर्दा यो साता पैसा नलाग्ने भएको छ।

गत साताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिङको व्यवस्था गरेको जनाएको छ।

नेपाल आइडलको आधिकारिक फेसबुक पेजमार्फत दिएको सूचना अनुसार नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने भएको छ।

साथै कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ।

नेपाल आइडलमा अहिले चार प्रतियोगी बाँकी छन्। बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भटटराईमध्ये आउँदो शुक्रबार एक जना बाहिरिनेछन्।

आयोजकले ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारमा गर्ने बताइसकेको छ। फिनालेमा टप १२ मा पुगेका सबै प्रतियोगीको सहभागिता हुने बताएको छ।