प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय प्रति अध्यक्ष ओलीको विरोध

 

भदौ १४, काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा (मंसिर १० र २१ गते) गर्ने सरकारको निर्णयको विरोध गरेका छन ।
नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले दुवै निर्वाचन मंसिर १० गते एकै चरणमा गर्न सकिन्थ्यो भन्दै दुई चरणमा निर्वाचन गर्ने निर्णय गर्नु आवश्यक नभएको वताएका छन ।
मंगलबार जनकपुरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी अगुवा कार्यकर्ता भेलामा राजपा कार्यकर्ताले ढुंगामुढा गरेकोतर्फ इंगित गर्दै अध्यक्ष ओलीले निषेधको राजनीति गर्न खोज्नु निकै दुखद् भएको बताएका छन ।
ढुंगामुढा र उच्छृङ्खल गतिविधि राजपाका कार्यकर्ताले गरे पनि एमाले आवेशमा तथा उत्तेजनामा नआउने वताउनु भयो ।तर एमाले डरपोक तथा कायर भने नभएको र प्रतिरोधको बाटो समाउनु नपरोस् अध्यक्ष ओलीले भनेका थिए । उनले राजपालाई राजनीतिक व्यवहार देखाउन आग्रह समेत गरेका थिए ।अध्यक्ष ओलीले शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्न खोज्नु गैरकानुनी र हिंसात्मक गतिविधि भएको बताए।