वरिष्ठ पत्रकार राईको उपचारका लागि सहयोगको आह्वान

 

भदौ १३,तेह्रथुम – मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईको उपचारका लागि पत्रकारहरुले सहयोग संकलन थालेका छन् ।

नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश तथा विदेशका सन्चारकर्मी र शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

प्रदेश नं. १ का सबै शाखाहरु मार्फत सहयोग संकलन गरेर राईको उपचारमा सहयोग गर्न अपिल गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सीनाले बताए ।

‘उहाँले आफ्नो जीवन पत्रकारितामा बिताउनुभयो, अहिले उहाँलाई हाम्रो सहयोगको खाँचो छ, त्यसैले उहाँको उपचारका लागि सहयोग गर्न सबै सन्चारकर्मी साथीहरुलाई आग्रह गर्छु,’ केन्द्रीय सदस्य तिम्सीनाले भने ।

उनका अनुसार धनकुटामा पत्रकारहरु बाटै राईको उपचारका लागि ५० हजार बढी रुपैयाँ संकलन भइसकेको छ ।

तेह्रथुममा पनि नेपाल पत्रकार महासंघले सहयोग संकलन गरेर पठाउने तयारी गरिएको छ । लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गरेका राई नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष थिए ।

उनी नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएर समेत काम गरे ।

उनको भदौ १८ गते काठमाडौँ स्थित गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया गरिने तयारी भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर श्रेष्ठले बताए ।