सप्त ऋषिको पूजा गरी ऋषिपञ्चमी मनाइँदै

भदौ १०,काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी शनिबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ ।

महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्ने गरिन्छ । आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने गरिन्छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमामा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछ । रासस