नेपालले माल्दिभ्सलाई ६-० ले हरायो, नेपाल सेमिफाइनलमा

 

भदौ ५, काठमाडौं – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालका लागि १४ औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । ३८ औँ मिनेटमा रोशन राना मगरको गोलले नेपाल ३–० ले अघि थियो । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपालका लागि आकाश बुढामगरले ४–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेको नेपालका लागि आकाशले नै ४७ औँ मिनेटमा गोल गरे । यस्तै ब्रिजेशले ७३ औँ मिनेटमा गोल गरेर नेपाललाई ६–० को जित दिलाए ।
दक्षिण एसियाली फुटबल संघ साफको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा यसअघि माल्दिभ्स भारतसँग ९–० गोल अन्तरले हारेको थियो । यसैले समूह ‘बि’ बाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन् । समूह विजेताको टुंगो भने आउँदो मंगलबार नेपाल र भारतबिचको खेलले तय गर्ने छ ।
समूह ‘बि’ मा भारत, माल्दिभ्स र नेपाल रहेका छन् । समूह ‘ए’ मा रहेको बंगलादेशले शुक्रबार श्रीलंकालाई हराएको थियो । समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।