वीर अस्पतालको सेवामा सहजता

 

साउन  २१,  काठमाडौ— मुलुककै जेठो वीर अस्पतालमा सुधारका काम भइरहेका छन् । अस्पतालको रेडियोलोजी विभागबाट अस्पतालले प्रदान गर्ने सेवामा नागरिकले अनुभूति गर्न पाउने गरी सेवामा परिवर्तन आएको छ । विगतमा रेडियोलोजी तथा इमेजिङ सेवाअन्तर्गत पर्ने अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई, एक्सरेजस्ता अत्यावश्यकीय सेवा लिन वीरमा २० देखि ३० दिनसम्म पालो कुरेर बस्नुपर्ने अवस्था थियो । तर, अहिले त्यो झन्झटिलो प्रक्रिया बन्द भएको छ ।

रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले वीरमा उपचारका लागि आउने बिरामीलाई एकैदिनमा सेवा लिने व्यवस्था मिलाएको बताए । ‘देशका दुर्गम ठाउँबाट गरिब र विपन्न वर्गका बिरामी उपचारका लागि वीरमा आउने गरेका छन् । हामीले समयमा अल्ट्रासाउन्डदेखि अन्य सेवा दिन नसक्दा २५औँ दिनसम्म बिरामी वेटिङ लिस्टमा बस्नुपर्ने बाध्यता थियो ।

यसलाई अहिले हामीले व्यवस्थित बनाइसकेका छौँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘दुई सिफ्टको व्यवस्था गरेर आएका सबै बिरामीलाई अबेरसम्म भए पनि एकैदिनमा सेवा दिएर पठाउने गरेका छौँ ।’ अहिले वीर अस्पतालमा सेवा लिन गएका बिरामीले अपवादबाहेक दोस्रो दिन कुर्नु नपर्ने उनको दाबी छ । शर्माले नशाको भिडियो एक्सरे र एमआरआई सेवामा भने सामान्य ढिला हुने बताए ।

थामिनसक्नु बिरामी, व्यवस्थापन चुस्त
वीर अस्पतालमा अल्ट्रासाउन्ड गराउने बिरामीको संख्या २४ घन्टामा दुई सय पुग्ने गरेको छ । यसअघि समय अभावकै कारण बिरामीले सेवा लिन २५ दिनसम्म कुर्नुपरेका घटना छन् । दैनिक रूपमा सिटीस्क्यानको सेवा लिनेको संख्या ४० र एमआरआईको सेवा लिने २० जना हुने गरेको डा. शर्माले बताए । ‘बिरामीको चाप अत्यधिक बढेका कारण एमआरआई गर्न केही समय लाग्न सक्छ,’ शर्माले भने, ‘यसका लागि पनि कसरी छिटो सेवा र रिपोर्ट दिने भन्नेमा लागेका छौँ । केही दिनमै यसको सेवामा थप सहजता देखिनेछ ।’ शर्माका अनुसार एक दिनमा एमआरआई मेसिनले १५ देखि १८ सम्म र एक्सरे सेवा लिने चार सयको संख्यामा छन् ।

इएचएस सेवा सुरु
वीर अस्पतालमा बढेको बिरामीको चापलाई व्यवस्थित गर्न इएचएस सेवा सुरु गरिएको छ । एक समयमा मात्रै बिरामी जाँच गर्दा अधिकांश बिरामीले सेवा लिन नपाएपछि उपचार गर्न आएका बिरामीलाई फिर्ता नपठाउने उद्देश्यअनुसार इएचएस सेवा सञ्चालनमा ल्याएको डा. शर्माले बताए । ‘बिहानको टिकट चार सय रुपैयाँ तिर्दै आएका बिरामीले इएचएस सेवा लिन चाहेमा थप सय रुपैयाँ बढी तिरी पाँच सय रुपैयाँमा सेवा लिन सक्नेछन्,’ शर्माले भने ।