ओखलढुंगाका ८ वटै तहमा शान्तिपूर्ण मतदान जारी

 

असार १४ ,काठमाडौं   – ओखलढुंगाको एक नगरपालिका र ७ वटै गाउँपालिकामा शान्तीपूर्ण वातावरणमा मतदान जारी छ । अहिलेसम्म ओखलढुंगामा ६० प्रतिशत मत खसिसकेको जिल्लाका प्रमुख निर्वाचन अधिकृत अर्जुन राईले बताए । साँझ ५ बजेसम्म चल्ने मतदान प्रकृयामा अहिलेसम्म मतदाताको उत्साहजनक सहभागीता रहेको निर्वाचन अधिकृत राईले बताए । उनले भने,‘मतदानपछि आज नै ७ वटै गाउपालिका र एक नगरपालिकाको केन्द्रमा मतपेटिका संकलन गर्ने व्यवस्था सुरक्षा निकायले मिलाएको छ । भोलि बिहानबाट मतगणना सुरु गर्छौँ ।’ बिहान मौसम सफा भएकाले पनि मतदाताको उपस्थिती बाक्लो रहेको र अहिले भने केहि निर्वाचन केन्द्रमा मतदाताको संख्या पातलिदै गएको उनले बताए ।

ओखलढुंगामा सिद्धिचरण नगरपालिका सहित ७ गाउँपालिका छन् । जिल्लाको एकमात्र नगरपालिकामा कांग्रेसबाट डिल्ली खनाल, एमालेबाट मोहनकुमार श्रेष्ठ र माओवादी केन्द्रबाट रुपेश शाक्य मेयर पदका लागी चुनावी प्रतिस्पर्धामा रहेका छन् । सदरमुकाम ओखलढुंगा बजार सहित केहि गाविस समेटेर बनेको सिद्धिचरण नगरपालिका पर्ने निर्वाचन क्षेत्र नम्बर १ मा विगत संविधानसभाको पहिलो निर्वाचनमा माओवादी केन्द्र र दोस्रोमा एमालेले बिजयी हासिल गरेका थिए । यद्यपी अहिले मेयर पदमा कांग्रेस र एमालेको मुख्य प्रतिस्पर्धा रहेको छ ।