मौसमविद् भन्छन्ः चिन्ता नलिनुस्, आज मुसलधारे पानी पर्दैन

 

असार १४ ,काठमाडौं – सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन्। बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई, तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए।

‘सोमबार रातिदेखि देशैभर मनसुन फैलिए पनि बुधबार दिउँसो भारी वर्षाको संभावना देखिन्न,’ पौडेलले मंगलबार भने, ‘सूदूरपश्चिमका पहाडी जिल्लामा बुधवार अपरान्हदेखि हल्का वर्षा हुने देखिन्छ, अझै दुई, तीन दिन मुसलधारे वर्षाको संभावना न्यून छ।’ बुधबार प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ। महाशाखाकी अर्की मौसमविद् विभूती पोखरेलले केही दिनयताको मौसमी विश्लेषण गर्दा ‘मनसुन रातको समयमा सक्रिय देखिएको’ र अझै केही दिनको मनसुनको यही गति हुने संभावना देखिएको बताइन्। ‘मनसुनको विशेषता पनि राति सक्रिय हुनु हो,’ पोखरेलले भनिन्, ‘बुधबार र बिहीबार पनि रातभरी वर्षा हुने र विहानपख मौसम खुल्ने देखिन्छ।’

सूदूरपश्चिमका तराईका जिल्ला, मध्यभागका तराई र पूर्वको जिल्लामा पनि दिउँसोको समयमा भन्दा मध्यान्हपछि वर्षा हुने महाशाखाका विश्लेषण छ। २९ जेठमा पूर्वको झापा हुँदै प्रवेश भएको मनसुन सोमवार (१२ गते) मात्र सूदूरपश्चिम पुगेको हो। यसबीचमा खासै धेरै वर्षासमेत भएको छैन।‘ मुसलधारे वर्षा हुन अझै केही समय लाग्ने देखिन्छ,’ उनले भने, ‘देशैभर केही दिन यता रातको समयमा वर्षा भइरहेको छ, अझै त्यस्तै वर्षाको संभावना छ।’

मनसुन सुरु भएको दुई साता बितिसके पनि अहिलेसम्म मुलुकका कुनै पनि भूभागमा भारी वर्षा भएको छैन। जुन भन्दा जुलाई ९असार तेस्रो साता र साउन० मा मनसुनी वर्षा बढी हुने गरेको छ। सोमवार पोखरामा ८७ मिलिमिटर वर्षा भएको थियो। यो नै यो वर्षको मनसुनको सबैभन्दा बढी वर्षा हो। सामान्यतया ५० देखि ६० मिलिमिटरसम्म मात्र वर्षा हुने संभावना रहेको पौडेलले उल्लेख गरे। महाशाखाले मंगलवार बुलेटिन प्रकाशित गर्दै मंगलवार राती पनि देशका प्राय भूभागहरुमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।