तीन प्रदेशका ३३४ स्थानीय तहमा आज निर्वाचन हुँदै

 

असार १४ ,काठमाडौं – प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ। ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा यसअघि वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने भएको छ।

पहिलो चरणझैँ यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुनेछ ।

तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन्। चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदैछ।

स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिको चयन गर्नेछ ।

दोस्रो चरणको निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध भइसकेका छन्। ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता मतदानमा सहभागी हुने भएका छन्। ती मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन्। मतदान कार्यमा ६६ हजार नौ सय कर्मचारी र सुरक्षाकर्मी एक लाख ६० हजारभन्दा बढी खटिएका छन् ।

आयोगले स्थानीय निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र हराए वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र र सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ।