शिक्षाको विकासका लागि १९ अर्ब रिण प्राप्त

असार ८, काठमाडौँ। विद्यालय क्षेत्र विकासका लागि विश्व बैंले नेपाललाई करिब १९ अर्ब रुपैयाँ रिण उपलब्ध गराएको छ । बैंकले आउदो पाँच बर्षका लागि दिन लागेको १९ अर्ब पाँच लाख रुपैया रिण सहयोग सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।
विश्व बैंकले दिएको यो रकम शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन–अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिने अर्थसचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा यहाँस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले यो कार्यक्रम कार्यान्वयनपछि ७० लाख विद्यार्थी र एक लाख ८० हजार शिक्षक लाभान्वित हुने बताउनुभयो । यसबाट नेपाल सरकारको शैक्षिक क्षेत्र सुधार अभियानमा योगदान पुग्ने उहाको विश्वास छ ।
सचिव सुवेदीले कार्यक्रम कार्यान्वयन गर्ने निकाय शिक्षा मन्त्रालय र मन्त्रालय मातहतको शिक्षा विभागलाई गम्भीर भएर कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको विकासका पूर्वाधारका आवश्यकता, मानव संशाधन निर्माण र दिगो सामाजिक सेवा सुनिश्चित गर्ने सरकारको अभियानमा थप सहायता प्रवाह गर्न उक्त बैंकलाई आग्रह पनि गर्नुभयो ।