भयरहित वातावरणमा मतदान गराउने दायित्व सरकारको हो– गृहमन्त्री

असार ८, विराटनगर। गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताउनुभएको छ । मोरङको विराटनगरमा आजदेखि सुरु प्रदेश नं १ को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गर्दै उहाले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताउनुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले अब मुलुकमा सङ्घीय प्रशासनिक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी गराउनुभयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाइ मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले एक अर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले आयोजित गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति रहेको छ ।
यसका साथै, प्रदेश नं १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीको पनि सहभागिता रहेको छ ।