एमाले उम्मेद्वारको घरमा बम बिस्फोट

असार ७। नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो ।
नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते हुनुभएको छ । उहाको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताउनु भयो ।
पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् । चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो ।
उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको हो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ ।