एसियाली पूर्वाधार लगानी बैंकले ठूलो मात्रामा लगानी गर्दैै

असार ५, काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंकले नेपालमा विद्युत वितरण प्रणालीसहित ६ वटा परियोजनामा लगानी गर्ने भएको छ । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा भाग लिन दक्षिण कोरिया पुग्नुभएका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको भेटमा बैंका प्रतिनिधीले यस्तो आश्वासन दिएका हुन् ।
कोरियाबाट फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले बैंकबाट काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा उल्लेख्य रुपमा लगानी गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो । यसका लागि १० अर्ब रुपैयाँ लगानी गर्ने बैंकले जनाएको छ ।
अर्थमन्त्री कार्कीले सो परियोजनामा बैंकले केही समयभित्रै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिनुभयो ।
यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा बैंकले २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो । अर्थमन्त्री कार्कीका अनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा समेत पूर्वाधार बैंकले लगानी गर्ने भएको छ । सरकारको प्रस्ताव अनुसार यो परियोजनामा बैंकले २६ अर्ब लगानी गर्नेछ ।
यसैगरी बैंक पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनाका लागि १६ अर्ब लगानी गर्न पनि इच्छुक रहेको मन्त्री कार्कीले बताउनुभयो ।
९३ मेगावाटको शारदा बबई जलविद्युत् आयोजनामा २० अर्ब लगानी गर्ने विषयमा पनि प्रक्रिया अगाडि बढेको छ ।  यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाँचौँमा समेत बैंकको १८ अर्ब लगानी हुने कार्कीले बताउनुभयो ।
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित सहरीकरणसम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जानेछन् ।