प्रधानन्यायधिश सिफरिस हुन सकेन

असार ५, काठमाडौँ। विपक्षी दलको असहमतीका कारण आज पनि प्रधानन्यायधीशको सिफरिस हुन सकेन । संबैधानिक परिषद्को आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले अध्ययनका लागि भन्दै समय माग गरेपछि प्रधानन्यायधिश सिफारिस नै नगरी बैठक स्थगित भएको हो । संवैधानिक परिषद्को आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गर्नुभएको थियो ।
न्याय परिषदले प्रधानन्यायाधीशका लागि सिफरिस गरेका ६ जना मध्ये पराजुली सबैभन्दा बरिष्ठ हुनुहुन्छ । एमालेले पराजुलीकै नाममा सहमति नजनाएको हो । परिषद्को अर्को बैठक असार १५ गतेका लागि बोलाइएको छ । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण गएको जेठ २४ गते अवकास पाएपछि वरिष्ठ न्यायाधीश पराजुली नै कायममुकायम प्रधानन्यायाधीश भएर सर्वोच्च अदालत सम्हालिरहनुभएको छ ।