प्रदेश नम्बर दुइमा निर्वाचन स¥योः असोज २ मा गर्ने

असार १, काठमाडौँ । सरकारले प्रदेश नम्बर दुइमा स्थानीय तहको निर्वाचन सारेको छ । सत्तारुढ दलहरु र राष्ट्रिय जनता पार्टीका नेताहरुबिच आज सिंहदरबारमा भएको छलफलमा प्रदेश नम्बर दुईको निर्वाचन असोज २ गते गर्ने निर्णय भएको हो । दलहरुले बाँकी ३ वटा प्रदेशमा भने निर्धारित असार १४ गते नै गर्ने निर्णय गरेका छन् । आन्दोलतरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सत्तारुढ दलहरुले प्रदेश नम्बर दुइको निर्वाचन सारेका हुन् । सत्तारुढ दलहरुको यो निर्णयलाई मन्त्रिपरिषदको बैठकले औपचारिकता दिनेछ ।
निर्वाचन आयोगको असहमतीका बावजुत सत्तारुढ दलहरुको यो निर्णय आएको हो । सत्तारुढ दलहरुले आजै बिहान निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रदेश नम्बर २ मा तेस्रो चरणमा निर्वाचन गर्ने बिषयमा परामर्श गरेका थिए । तर, आयोगका पदाधिकारीहरुले तोकिएको निर्वाचन सारेमा राजनीतिक संकट उत्पन्न हुने चेतावनी दिएका थिए ।