चुनावमा होमियो मधेस, दलहरु चुनावी तयारीमा

 

जेठ ९ , जनकपुर – तराई-मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्। यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए।
यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर साझा उम्मेदवार चयन गर्ने बताए। कांग्रेस, एमाले र माओवादी केन्द्र पनि जोडतोडका साथ चुनावी तयारीमा जुटिसकेका छन्।
अधिकांश स्थानमा उम्मेदवार टुंगो लागिसके पनि केही स्थानमा टुंगो लगाउन बाँकी रहेको दलहरुले जनाएका छन्।
कांग्रेसले जेठ १२ गतेसम्म सबै तहमा उम्मेदवार तय गर्ने भएको छ। ‘जेठ १० सम्म सबै उम्मेदवारको सूची पेस हुने र १२ गते सम्ममा टुंगो लगाइसक्ने तयारी छ,’ कांग्रेस धनुषाका सचिव सन्तोष यादवले भने।