वैशाख २२ ,काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ। यो खबर आजको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो।
प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ। अघिल्लो साता संसदको विकास समितिले उपभोक्ता अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई एनसेलको फोरजी सेवा स्वीकृत गर्न निर्देशन दिएको थियो। सार्वजनिक लेखा समितिले भने पुँजीगत लाभकर सबै नउठेको भन्दै फोरजी सेवा रोक्न निर्देशन दिएको थियो।
