बैशाख ११ ,काठमाडौं – गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निर्वाचनविरोधी गतिविधि स्थानीय तहको निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहयाएको छ।विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रूपमै स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आएको छ। गृहले पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको चुनावविरोधी गतिविधि र तराईमा नेकपाका साथै विखण्डनकारी समूह सीके राउतका कार्यकर्तालगायत भूमिगत समूहको गतिविधि स्थानीय तह निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहर गरेको हो। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन्।
विप्लवका कार्यकर्ता निर्वाचन बिथोल्ने उद्देश्यले नगरपालिका र गाउँपालिकामा केन्द्रित भएको स्रोतले बताएको छ। प्रहरीले प्रत्येक नगरपालिका र गाउँपालिकाका सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ।गृह मन्त्रालयले विप्लवका कार्यकर्ताको निर्वाचन बिथोल्ने योजना विफल बनाउन मतदानस्थलमा निगरानी बढाएको छ। ‘हाम्रो नीति निर्वाचन खारेज गर्ने हो। पार्टीको नीति पनि यही हो’, नेकपाका एक नेताले भने, ‘जति सकिन्छ, निर्वाचन बिथोल्न सशक्त भएर लाग्नेछौं।’ गृह प्रवक्ता बालकृष्ण पन्थीले कुनै समूहले चुनाव बिथोल्न नसक्ने बताए। ‘नेकपाले चुनाव बिथोल्ने कुरा गर्दै आएको सुनेका छैाँ। हामीले बनाएको सुरक्षा योजना प्रभावकारी छ’, प्रवक्ता पन्थीले भने, ‘कसैले चाहँदैमा चुनाव बिथोलिँदैन। उनीहरूले निर्वाचन बिथोल्न सक्दैनन्।’ नेकपाले निर्वाचन बिथोल्न गाउँकेन्द्रित योजना बनाएको स्रोतले बतायो।
प्रहरीले निर्वाचनमा मतदाता सहभागी नहुन् भनेर नेकपाले ठाउँ ठाउँमा विस्फोटक पदार्थ राखेर आतंक फैलाउने तयारी गरिरहेको गृहमन्त्रीलाई रिपोर्टिङ गरेको छ। सार्वजनिक रूपमै स्थानीय तहको निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएको नेकपाका कार्यकर्ताले गाउँ गाउँमा भय र त्रास फैलाउन थालेका छन्। गृहले पूर्वीपहाडी जिल्लामा नेकपा कार्यकर्ताबाहेक लिम्बुवान र खुम्बुवानका गतिविधिसमेत नियाल्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगको पटक पटकको छलफलपछि गृह मन्त्रालय नेकपा कार्यकर्ताको गतिविधिमा कडाइ गर्ने निर्णयमा पुगेको स्रोतले बताएको छ। रुकुम, रोल्पा, कालिकोटलगायत कतिपय जिल्लामा नेकपाका नेता/कार्यकर्ताले निर्वाचन बिथोल्ने योजनासहित प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको स्रोतले बताएको छ। गृहले स्थानीय तहको निर्वाचन केन्द्रित गरी आयोजना गरेको क्षेत्रीय सुरक्षा गोष्ठीमा समेत नेकपाको निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्ने विषयले प्राथमिकता पाएको स्रोतले उल्लेख गरेको छ।
‘पहाडी क्षेत्रमा नेकपाको गतिविधि नै प्रमुख चुनौती हुन्’, प्रहरीका एक डीआईजीले भने, ‘तराईमा मधेसी मोर्चाका गतिविधि चुनौतीपूर्ण थिए। मोर्चा पनि निर्वाचनमा आउने भएपछि तराईमा खासै समस्या छैन। सीके राउतका कार्यकर्ता र भूमिगत समूहमाथि निगरानी बढाएका छौं।’ भूमिगत समूहले भारतीय सीमाबाट साना हतियार भित्र्याएर उम्मेदवार र मतदातालाई धम्क्याउन सक्नेप्रति सजग रहन निर्देशन दिएको छ। उम्मेदवारलाई धम्क्याए र सहज निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेलाई तत्काल पक्रने तयारी प्रहरीले गरेको छ।
सीके राउतका कार्यकर्ता र भूमिगत केही समूहले तराईमा निर्वाचन बिथोल्न खोजे पनि उनीहरूको शक्ति कमजोर बन्दै गएको स्रोतले बताएको छ। सीके राउतका कार्यकर्ता र भूमिगत समूहमाथि निगरानी गर्न भने गृहले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ।