मेसीलाई रोक्ने योजना बनाउन नसक्दा म्याड्रिड आफ्नै घरमा ३–२ ले पराजित

 

बैशाख ११ ,काठमाडौं – खेलको १९ मिनेटमा रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलोले कुमले हिर्काएपछि लिओनल मेसीको मुखको छाला काटियो। जसका कारण उनी पुरै खेल अवधिभर ड्रेसिङ गर्ने सेतो कपडा मुखमा च्यापेर खेल्न बाध्य भए। उनलाई ४५ मिनेटमा म्याड्रिडबाटै खेल्ने ब्राजिलियन मिडफिल्डर कासेमिरोले खराब ट्याकल गरेका थिए। यो घटनामा कासेमिरो दोस्रो पहेँलो कार्ड अर्थात रातो कार्डको दोषी थिए। तर, रेफ्रि अलेजान्द्रो जोसे हर्नान्डेजको कृपाले उनी यतिबेला बचे।

आज बिहान सम्पन्न विश्व फुटबलको सबैभन्दा प्रतिक्षित फुटबल खेलमा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी म्याड्रिडका खेलाडीबाट अनिगिन्ति खराब व्यवहारको शिकार बने। उनले कुनै गुनासो गरेनन्।

गत साता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब युभेन्ट्सविरुद्ध दुवै लेगमा कुनै गोल गर्न नसकेपछि मेसीको प्रायोजित रुपमा आलोचना भइरहेको थियो। यस्तो अवस्थामा म्याड्रिडको सान्टियागो बेर्नाबेउ रंगशालामा आफ्नो कट्टर प्रतिद्वन्द्धीविरुद्ध खेल्न उत्रिँएका मेसीले आफ्नो आलोचकको मुख मात्र थुनिदिएनन्, बार्सिलोनालाई फेरि एक पल्ट लिगको शीर्ष स्थानमा पुर्याएका छन्।

मेसीकै निर्णायक दुई गोलका कारण आज बिहान ला लिगाको महत्वपूर्ण खेलमा बार्सिलोनाले ८१ हजारभन्दा बढि घरेलु समर्थक रहेको सान्टियागो रंगशालामा रियल म्याड्रिडलाई ३–२ गोलले स्तब्ध पार्यो।

यो जितसँगै बार्सिलोनाको ला लिगा उपाधि रक्षा गर्ने अभियानमा बल पुगेको छ। बार्सिलोना गत सिजनको पनि विजेता हो। म्याड्रिडभन्दा १ खेल बढि खेलेको बार्सिलोनाले अंक तालिकामा जिनेदिन जिदानको टोलीलाई ७५ अंकले बराबरीमा राखेको छ। तर, हेड टु हेडको आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

बार्सिलोनाले अब लिगको ५ खेल खेल्न बाँकी छ भने म्याड्रिडले ६ खेल खेल्ने छ। बार्सिलोनालाई गत डिसेम्बरमा क्याम्प नोउमा १–१ गोलको बराबरीमा रोकेको म्याड्रिडले आज धारिलो सुरुवात गर्यो।

सान्टियागोमा पछिल्लो ५ ‘अल क्लासिको’ भिडन्तमा गोल गर्दै आइरहेका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा, राइट विङमा तिब्र खेल्ने गारेथ बेल र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा वायर्न म्युनिखविरुद्ध ५ गोल गरेका क्रिस्टियानो रोनाल्डोको रुपमा रहेको म्याड्रिडको ‘बिबिसी’ जोडीलाई प्रशिक्षक जिदानले एकै पल्ट मैदानमा उतारेका थिए। यी तीन स्ट्राइकरबाहेक मिडफिल्डमा लुका मोड्रिक र टोनी क्रुसको प्रभावका कारण म्याड्रिडले सुरुको १५ मिनेट भ्रमणकारी क्याटलान टोलीलाई आछुआछु पारेको थियो।

तर, यति हुँदा पनि जिदानसँग मेसीलाई रोक्ने कुनै अचुक अस्त्र देखिएन्। त्यसैले म्याड्रिडको गोल पोस्टतर्फ पुछली झै नाचेका मेसीले कप्तान सर्जियो रामोसलाई उद्देलित तुल्याएका थिए। पछि उनी मेसीलाई नै खराब ट्याकल गरेको आरोपमा रातो कार्ड पाएर मैदान छोड्न विवश भए।

ब्राजिलियन मिडफिल्डर कासेमिरोले २८ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

क्रुसले हानेको कर्नर डिबक्सभित्र बार्सिलोनाका खेलाडीले राम्रोसँग क्लियर गर्न सकेनन्। जुन बल डिबक्स बाहिर रहेका अर्का ब्राजिलियन डिफेन्डर मार्सेलोको खुट्टामा पुगेको थियो। उनले ३० यार्ड टाढाबाट डिबक्स भित्र दिएको पासलाई रामोसले गोल पोस्टमा प्रहार त गरे तर त्यो बल पहिलो बारमा ठोकिएर दोस्रो बार नजिकै बसेका कासेमिरोको खुट्टामा पुगेको थियो। जसको फाइदा उनले उठाए।

यद्यपी यति हुँदा पनि म्याड्रिडले पहिलो हाफमा अग्रता कायम गर्न सकेन्। मेसीले आफ्नो टोलीले गोल खाएको ५ मिनेट भित्रै गोल फर्काए। ३३ मिनेटमा क्रोएसियाली मिडफिल्डर इभान राकिटिकले डिबक्सको लाइनमा लुइस सुआरेजलाई दिएको पास, सुआरेजले अगाडि रहेका मेसीलाई छोडेपछि उनले उत्कृष्ट गोल गरे।

पहिलो हाफको खेल १–१ गोलको बराबरीमा रहेको बेला ७७ मिनेटमा राकिटिकले बार्सिलोनाका लागि अर्को गोल थपेका थिए। उनले २० यार्ड नजिकै पाएको बललाई अर्को दिशातर्फ घुमाउँदै गोल गरेका थिए। यसको ४ मिनेटपछि नै बल लिएर दौडिरहेका मेसीलाई खराब ट्याकल गरेको आरोपमा रामोसले सिधै रातो कार्डको सामना गर्नु पर्यो।

१० खेलाडीमा सिमित भएपछि जिदानले बेन्जेमाको स्थानमा ८२ मिनेटमा जेम्स रोड्रिगेजलाई मैदानमा पठाउने निर्णय गरेका थिए। जुन सफल सावित भयो। रोड्रिगेजले पहिलो हाफको ३९ मिनेटमा चोटग्रस्त गारेथ बेलको स्थानमा मैदान प्रवेश गरेका २१ वर्षीय मार्को असेन्सियोसँग मिलेर उत्कृष्ट मुभ बनाए। जसका कारण आफू मैदानमा प्रवेश गरेको ४ मिनेट भित्रै मार्सेलोको क्रसमा डिबक्स भित्र अनमार्क रहेको स्थितिको फाइदा उठाउदै रोड्रिगेजले खेललाई २–२ को बराबरीमा ल्याए।

अन्तिम ५ मिनेट बार्सिलोना माथि निकै दबाब बनाएको घरेलु टोलीको आक्रामक शैली हेर्दा सबैले खेल बराबरीमा टुँगिने अनुमान गरेका थिए। तर, सबै अनुमान विपरित मेसीले निर्धारित ९० पछि थप गरिएको २ मिनेटको अन्तिम समयमा उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई एकपल्ट फेरि उसैको घरमा स्तब्ध तुल्याए।

उनले सर्जियो रोबेर्टोले अगाडि बढाएको बल जोडी अल्बा हुँदै आफ्नो खुट्टामा आएपछि १६ यार्डबाट निर्णायक गोल गरेका थिए। निलम्बनका कारण आजको खेलमा नेइमार अनुपस्थित थिए। तर, उनको स्थानमा पाको अल्कासरले प्रभावशाली खेल प्रदर्शन गरे। डिफेन्समा गेरार्ड पिकेको प्रदर्शन सम्झनलायक थियो। उनले दोस्रो हाफमा गोलको दुईवटा अवसर बुनेका थिए। ५९ मिनेटमा राकिटिकको कर्नरमा उत्कृष्ट हेडिङ गरेपनि म्याड्रिडका गोलरक्ष्क किलोर नाभासले डाइभ हानेर जोगाएका थिए। अर्को उनले ८० मिनेटमा डिबक्सभित्र खुला प्रहार गर्ने मौका पाएका थिए। तर, उनले बललाई दिशा दिन नसक्दा फेरि नाभासले रोकेका थिए।

बार्सिलोनाका गोलरक्षक टेर स्टेगेनको प्रदर्शन आज उच्चकेटीको थियो। उनले म्याड्रिडको १२ वटा प्रहार निस्तेज पारेका थिए। यो २००४ पछि कुनै पनि बर्सिलोनाको गोलरक्षकले एउटै खेलम बचाएको सर्वाधिक योगदन हो।