मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने,आजै औपचारिक घोषणा

 

वैशाख ७ ,काठमाडौं- मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । सम्भवतः आजै औपचारिक घोषणा हुनेछ ।

बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको नेताहरूले बताएका छन् ।
स्रोतका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुनेछ ।

मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकताक लागि सम्वादमा छन् भने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पार्टीमा छलफल गर्नु पर्ने जवाफ दिएका छन् ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पार्टी एकतामा सहमति भएको स्वीकार गरे ।

अहिलेसम्म पार्टीको नाम राष्टिय जनता पार्टीमा लगभग सहमति भएको छ । यो भएमा मधेसी मोर्चामा आवद्ध पााच दलको नयाँ पार्टीको नामबाट मधेस शब्द हट्नेछ ।

यस्तै नेतृत्व प्रणालीमा अध्यक्ष मण्डलमा लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पार्टी एकतामा धेरै विषय टुंगिएको बताए । उनले भने, अहिले विहान छलफल गरेर सबै फाइनल गर्छौं