सिलवालको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन

चैत ३० काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएको हो । सर्वोच्चको यो निर्णयसँगै आइजीपी अर्याललाई काम गर्न सहज भएको छ ।
सिलवालको रिटमा आईजीपी अर्याललाई प्रहरी प्रमुखको हैसियतमा काम गर्न नदिन अन्तरिम आदेश माग गरिएको थियो । तर, इजलासले अन्तरिम आदेश दिँदा चुनावको शान्ति सुरक्षा प्रभावित हुनसक्नेतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वोच्चले प्रधानमन्त्री कार्यालय लगायतका विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ । सिलवालको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? कुनै आधार र कारण भए वैशाख १५ भित्र जवाफ पेश गर्न भनिएको छ ।