मुलुकभित्रै सामान आवातजावतमा कर लाग्दैनः प्रधानमन्त्री

 

चैत २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाको सुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा शून्य करको अवस्था रहेको बताउनु भएको हो ।
संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने प्रधानमन्त्रीको भनाई छ । संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रकृयागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाउनु भएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार बने पछि उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा लगायत थुप्रै कार्यहरु अगाडि बढाइएको जानकारी दिनु भयो ।