देउवाले निधिलाई भने– हतारमा राजीनामा नदिनू

 

चैत २७ , काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन् । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको जानकारी निधिका प्रेस संयोजक रामजी दाहालले दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा निधिले बोल्ने तयारी गरे पनि बिहान सभापति देउवासँगको १० मिनेटको छलफलपछि आफ्नो धारणा नै नराखेको देउवानिकट स्रोत बताउँछ ।
आफू प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा रहेका वेला राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकासमन्त्री बनाएपछि वरीयतामा को अगाडि भन्नेमा विवाद देखिँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने वेलादेखि नै वरीयता विवाद सतहमा आएको हो । देउवानजिकका विश्वासपात्र निधिसँग आइजिपी नियुक्ति प्रकरणदेखि दूरी बढेको थियो । देउवा डिआइजी जयबहादुर चन्द र निधि डिआइजी नवराज सिलवालको पक्षमा रहे । तर, देउवाले जसरी पनि चन्दलाई आइजिपी बनाउन खोजेपछि सरकारले उनैलाई नियुक्ति गरेको थियो । तर, सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

निधिले वरीयतालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै राजीनामा दिने विषय बाहिर आएको तीन दिन बिते पनि उनले राजीनामा दिएका छैनन् । देउवाका विश्वासपात्र एवं प्रचण्ड नेतृत्वको सरकारका सूत्राधार निधि नै हुन् । फेरि देउवालाई प्रचण्डपछि प्रधानमन्त्री बन्न पनि निधिकै ठूलो साथ र सहयोग चाहिने भएपछि सभापति देउवा र निधि आपसी दूरी नबढाउने अवस्थामा पुगेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।