स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको एक बर्ष

चैत २६, काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको एक वर्ष पूरा भएको छ । एक वर्षमा ४५ हजार २ सय ७७ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य सेवा विभाग टेकुले जनाएको छ । गत वर्ष २५ चैतमा कैलालीबाट सेवा सुरु गरेको सरकारले एक वर्षमा आठ जिल्लामा सेवा लागु गरिसकेको छ । सरकारले आउँदो असारदेखि थप १७ जिल्लामा स्वास्थ्य विमा लागु गर्ने तयारी गरेको छ ।
झापा, तनहुँ, गोरखा, भक्तपुर, चितवन, जुम्ला, जाजरकोट लगायतका जिल्लामा असारदेखि स्वास्य विमा कार्यक्रम लागु हुने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताउनु भयो । ८ जिल्लामा लागु भएको कार्यक्रममा भने हालसम्म २ प्रतिशत नागरिकले मात्रै स्वास्थ्य बीमा गराएको लोहनीले जानकारी दिनु भएको छ । निर्देशक लोहनीले यो सुरुवात भएकाले ठूलै उपलब्धि नभएपनि सकारात्मक मान्न सकिने बताउनु भयो ।