सुरु भयो इपिजि बैठकः १९५० को सन्धीका बिषयमा छलफल

चैत २३, काठमाडौँ । नेपाल र भारतका सन्धि–सम्झौता समयसापेक्ष र सन्तुलित नभएको आवाज उठिरहेका बेला दुवै देशका बुद्धिजीविहरुको बैठक राजधानीमा सुरु भएको छ ।
नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले आजदेखि छलफल थालेको हो ।
यसअघि ईपीजीको बैठक तय भएर पनि दुईपटक सम्म सरेको थियो । अघिल्लोपटक भारतीय निर्वाचनले बैठक प्रभावित भए पनि यसपटक भने दुवै देशका बुद्धिजीवीहरुलाई एजेण्डामाथि छलफल गर्ने अवसर जुटेको छ ।
बैठकले विशेष गरी सन् १९५० मा भएको बहुचर्चित सन्धिबारे छलफल गर्नेछ । छलफलको अर्को एजेण्डा नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य समेत छ ।
बैठकमा भारतको तर्फबाट भगतसिंह कोसियारीको नेतृत्वमा बुद्धिजीवीहरु राजधानी आइपुगेका छन् । कोसियारी बिजेपीका नेता हुनुहुन्छ । कोसियारीसँगै पूर्वराजदूत जयन्तप्रसाद, महेन्द्रपी लामालगायतको उपस्थिति छ ।
नेपालको तर्फबाट छलफलको नेतृत्व पूर्वराजदूत भेषबहादुर थापाले गर्नुभएको छ । बैठकमा सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्यलगायत नेपाली बुद्धिजीवीहरु सहभागी छन् ।