बाँकी १७ जिल्लामा पहिलो किस्ताको अनुदान आजबाट

 

चैत २१, काठमाडौँ । भूकम्प प्रभावित १७ जिल्लामा निजी आवास अनुदान बापतको पहिलो किस्ताको ५० हजार रुपैयाँ आजबाट वितरण गर्न थालिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, संखुवासभा, स्याङजा, चितवन, सोलुखुम्बु र तनहुँमा पहिलो किस्ताको रकम बाडँन थालेको हो ।
निजी आवास अनुदान बापतको तीन लाख अनुदान मध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ वितरण गर्न थालिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान वितरण शुरु गर्नु हुने प्राधिकरणले जनाएको छ । कास्कीका ३४ गाविस तथा नगरपालिकामा २ हजार २ सय ३८ घरधुरी मध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचिमा समावेश छन् ।
भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की गरी अहिले सम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भएको र बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याड्ढ संकलन गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने प्रक्रिया पुरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्ता समेत लिइरहेका छन् ।