गच्छदार पनि ‘मधेसी’ शब्द फाल्दै

चैत २१ ,काठमाडौं – मधेस आन्दोलनबाट मधेसी नेताका रूमा अगाडि आएका उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द फाल्दै पार्टीको नाम संघीय समाजवादी फोरम नेपाललाई राष्ट्रिय पार्टी बनाएको दाबी गरेपछि विजय गच्छदारले पनि आफ्नो पार्टीको नामबाट मधेसी शब्द फाल्दै राष्ट्रिय पार्टी बनाएको उद्‌घोष गरेका छन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

यादवले आफू पहिले आवद्ध भएको नेकपा एमालेबाट बाहिरिएका पूर्वएमालेलाई समेट्दै राष्ट्रिय पार्टी बनाएको दाबी गरेका छन् भने गच्छदारले पनि आफू पहिले आवद्ध रहेको नेपाली कांग्रेसबाट बाहिरिएका नेतालाई समेटेर राष्ट्रिय पार्टी बनाउन लागेको दाबी गरेका हुन्।
मधेसी जनअधिकार फोरम नेपाल नाम गैर सरकारी संस्थालाई उपेन्द्र यादवले पार्टीका रूपमा परिवर्तन गरेका थिए।
पहिलो मधेस आन्दोलनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालले ५२ सिट जितेको थियो। पाँच वर्षको अवधिमा फोरम नेपाल तीन टुक्रा भयो। विजय गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), जेपी गुप्ताको नेतृत्वमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन भयो। दोस्रो संविधान सभाको निर्वाचनपछि संघीय समाजवादी पार्टीसँग उकीकरण गरेर उपेन्द्र यादवको पार्टीबाट मधेसी शब्द फालेर संघीय समाजवादी फोरम नेपाल बनाए।