‘वान बेल्ट वान’ रोडबाट पूरै दक्षिण एसियालाई लाभ’

चैत ११ , काठमाडौं – नेपाल तथा चीनका विज्ञले ‘वान बेल्ट वान रोड’ अवधारणाबाट समग्र दक्षिणएसिया क्षेत्रले आर्थिक तथा भौतिक पूर्वाधार विकासमा प्रचुर लाभ लिनसक्ने बताएका छन् ।चीन अध्ययन केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘बेल्ट एन्ड रोड’ सेमिनारमा वक्ताहरूले ‘वान बेल्ट वान रोड’ अवधारणाअनुसार चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण गर्न सके नेपालले पारवहन बिन्दुका रूपमा काम गर्नसक्ने औंल्याए । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पिताम्बर शर्माले ‘वान बेल्ट वान रोड’ अवधारणालाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्ने बताए । उक्त अवधारणाको फ्रेमवर्कभित्र रहेर चीन, नेपाल र भारतबीच सडक, रेल सञ्जाल, सूचनाप्रविधि, व्यापार र एकीकृत वित्तीय प्रणालीका क्षेत्रमा परस्पर लाभ हुने गरी सहकार्य गर्नु आवश्यक रहेको उनले बताए ।
कूटनीतिज्ञ डा. शम्भुराम सिंखडाले ‘वान बेल्ट वान रोड’ अवधारणा चीनको महŒवाकांक्षी र विशाल परियोजना रहेको बताए । उनले दुई हजार वर्षदेखि एसियाली र युरापेली सभ्यताबीच सिल्करोडका माध्यमबाट शक्तिशाली रूपमा परस्पर अन्तरनिर्भरता रहेको बताए । नेपाल भ्रमणमा रहेका चीनको रेनमिन युनिभर्सिटीका प्राध्यापक वाङ् यी वीले ‘वान बेल्ट वान रोड’ अवधारणामा चाँडोभन्दा चाँडो सहभागी भई नेपाल, भारतलगायत मुलुकले लाभ लिनसक्ने बताए ।
‘नेपाल र भारत वान बेल्ट वान रोड अवधारणामा जति चाँडो सहभागी हुन्छन् उनीहरूले आफ्नो आर्थिक विकासका लागि त्यति चाँडो लाभ लिन्छन्’, उनले भने ।काठमाडौं स्कूल अफ लका कार्यकारी निर्देशक डा. युवराज संग्रौलाले नेपाललाई मात्र नभएर भारत तथा एसियाली मुलुकका लागि आर्थिक विकास र समृद्धिका लागि यो अवधारणा हितकर रहेको बताए । ‘भारतले चीनसँग अविश्वास राख्नुभन्दा वान बेल्ट वान रोडमा सहभागिता जनाएर आर्थिक विकासका लागि लाभ लिनुपर्छ’, उनले भने ।